नवलपरासी जिल्ला सुगम भनेर चिनिए पनि सो जिल्लाका पहाडी भेगमा रहेका १७ गाविस दुर्गम नै रहेका छन् । भौगोलिक रूपमा सुन्दर र खेतीयोग्य जमिन भए पनि भरपर्दो सडक सुविधा नहुँदा यहाँका बासिन्दाले उत्तिकै सास्ती खेप्नुपरेको छ ।
दलदलेदेखि बुलिङटार र डेढगाउँको सडकमा गाडी गुड्न थालेको दुई दशक भए पनि सडकको अवस्था नाजुक छ । सडकको स्तरोन्नति हुन नसके पनि बनेका सडकका पूर्वाधार पनि क्रमशः तहसनहस हुँदै गएको छ । सडकको मर्मतसम्भार हुन नसक्दा र बर्सेनि आउने बाढी र पहिरोले सडक जोखिमपूर्ण बन्दै गएको छ । बुलिङटार, डाँडाझेरी, अर्खला, कोटथर, जौबारी, धौवादी, नरम, भारतीपुर, मिथुकरम, डेढगाउँ, रकुवा, रुचाङ, भारतीपुर, राईकोटलगायत १७ गाविसका स्थानीयले प्रयोग गर्ने सडकको सुधार गर्न कुनै पनि निकायले चासो दिएको छैन । सो सडकमा दैनिक ५ सयदेखि एक हजार यात्रुले यात्रा गर्ने गरेको स्थानीयले बताए ।
जिल्लाका पहाडी भेगका जनताको यात्रा सहज बनाउन अमेरिकी नागरिक गेरी सेफदले २०४८÷०४९ मा दलदलेदेखि अर्खलासम्म कच्ची सडकको योजना अघि सारेका थिए । अर्खलासम्म २०५५÷०५६ मा पहिलोपटक गाडी पुग्दा जनता खुसी भएका थिए । अर्खलासम्म गाडी पुगेपछि बुलिङटार, डाँडाझेरी, कोटरथर, भारतीपुर, डेढगाउँसहित तनहुँका दक्षिणी भेगका जनताले समेत सो सेवा उपभोग गर्न पाएका थिए । आव २०६०÷०६१ मा बुलिङटारसम्म गाडी पुगेको हो ।
४२ किलोमिटर दलदले बुलिङटार सडक बनेको २५ वर्ष पुग्दासम्म पनि सडकको स्तर उही छ । सो सडकभन्दा पछि बनेका सडकहरू कालोपत्रे भइसकेका छन् । तर, सो सडकको सामान्य मर्मत गर्न समेत सम्बन्धित निकायले चासो देखाएको छैन ।
अर्खलाका प्रीतम सोती मगरले सडकको स्तरोन्नति र मर्मतका लागि सरकारी निकायले अहिलेसम्म चासो नदिएकाले सडक जोखिमपूर्ण बन्दै गएको बताए । उनका अनुसार गेरी सेफदले २०५६ देखि २०६६ सालसम्म सडक निर्माणदेखि मर्मतसम्मको काम गर्दै आएका थिए । २०६६ पछि जिल्ला विकास समिति नवलपरासी र सडक डिभिजन कार्यालय बुटवलले मर्मतको काम सुरु गरेको हो । तर, त्यसपछि नै सडक बिगँ्रदै गएको सोती मगरको भनाइ छ । ‘अहिले कतिखेर मरिन्छ भनेर यात्रा गर्नुपर्छ,’ उनले भने, ‘पहिले वर्षामा मात्रै बिग्रने सडक अहिले हिउँदमा पनि बिग्रन थालेको छ ।’
भर्खरै सकिएको दसैं मान्न पहाड उक्लिने यात्रुले निकै सास्ती पाए । वर्षाले खुर्सानीखोला र कुमसोत सहितका दर्जनौं ठाउँमा सडक खाल्डाखुल्डी र हिलाम्य भएर गाडी चलाउन मुस्किल भएको छ । अन्य समयमा चार घण्टामा पार गरिने सडकमा अहिले सात÷आठ घण्टा लाग्ने गरेको सवारी चालकहरूको भनाइ छ । यस वर्ष अत्यधिक वर्षा भएकाले समस्या निम्तिएको लेकबेंसी यातायात व्यवसायी समितिका अध्यक्ष युवराज बस्यालले बताए । उनले दसैंका लागि यात्रुलाई सहज बनाउन जिविस र सडक डिभिजन कार्यालय गुहारेर सडक खोलिएको बताए । दलदलेबाट पहाडमा ७० ओटा गाडी चल्छन् । दैनिक २० ओटासम्म गाडी चल्ने समितिले जनाएको छ ।
हेर्दैन सरकारी निकाय
जिल्ला विकास समिति र पश्चिमाञ्चल सडक डिभिजन कार्यालय बुटवलले एकले अर्कोलाई जिम्मेवारी देखाउँदै यो सडकको मर्मतमा हेलचक्य्राइँ गरेका छन् । जिविस नवलपरासीका इन्जिनियर कृष्णलाल पियाले आफूहरूले दलदलेदेखि कुमसोतसम्म मात्रै मर्मत सम्भारको काम हेर्ने बताए । उनका अनुसार बोझापोखरीदेखि बुलिङटारसम्मको सडकको मर्मत गर्ने काम सडक डिभिजन कार्यालय बुटवलको हो । तर, पश्चिमाञ्चल सडक डिभिजन कार्यालय बुटवलका डिभिजन प्रमुख मेघराज मरासिनीले भने आपूmहरूले सामान्य मर्मत मात्रैगर्ने बताउँछन् ।
सडकको यस्तो दूरावस्था आउनुमा सडक हेर्ने जिम्मेवार निकाय नहुनु नै हो । यातायात व्यवसायी जनक आचार्यले भने, ‘अहिलेसम्म सडक सुधारका लागि जिम्मेवार भएर काम गर्ने निकाय कुन हो भन्ने नै टुंगो लागेन ।’ उनका अनुसार यातायात व्यवसायीहरूले पैसा उठाएर सडक मर्मत गरी यात्रु ओसार्ने काम गर्नुपर्छ । त्यसो त अहिले दलदलेदेखि कुमसोतसम्मका लागि राष्ट्रिय ग्रामीण यातायात सुदृढ कार्यक्रमअन्तर्गत ओटासिल गर्ने काम सुरु गरेको छ । दलदलेदेखि मुन्डेसम्मका लागि ठेक्का प्रक्रियामा रहेको र मुन्डेदेखि कुमसोतसम्म काम भइरहेको जिविस नवलपरासीले जनाएको छ । त्यही सडक फराकिलो र ग्राभेल गर्न खोज्दा नै सबैभन्दा बढी सडक बिग्रिएको यातायात व्यवसायीहरूको भनाइ छ ।
किन यस्तो भयो ?
विदेशीले बनाएको कच्ची सडक २५ वर्षको अवधिमा जस्ताको तस्तै हुनुमा सरकारी निकाय र स्थानीय राजनीतिक नेतृत्व बढी जिम्मेवार छन् । दैनिक हजारौं यात्रुले प्रयोग गर्ने सडकको मर्मत र स्तरोन्नति गर्न अहिलेसम्म कसैले चासो नराखेको र पहल नभएको स्थानीयको भनाइ छ । यस क्षेत्रबाट निर्वाचित जनप्रतिनिधिले पनि सो क्षेत्रको विकास र उन्नतिका लागि खासै चासो नराखेको स्थानीयको बुझाइ छ ।
Comments
Post a Comment